वैशाख ३ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख ३ गते बुधबार । सन् २०२५ अप्रिल १६ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ३८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आजको दिन अवसरवादीहरूले फसाउने चेष्टा गर्ने योग रहेकोले विशेष योजना गोप्य राख्नु हितकर होला ।

बृष

दिन उत्साहवर्द्धक रहला । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनसम्बन्धी क्रियाकलापमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेहरूले धोका दिनसक्छन्, यसप्रति सचेत रही व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुन सक्छ ।

मिथुन

रचनात्मक कार्य प्रारम्भ गर्ने र आम्दानीले पछ्याउने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन पनि रमाइलो रहनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्ने योग छ ।

कर्कट

चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । खर्च लागे पनि दिगो फाइदा हुने कर्म गरिएला । कतै आतिथ्यपूर्ण सम्मान पाइनेछ भने मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुने देखिन्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । रसरागको भाव जागृत होला ।

सिंह

मिश्रित फलदायी दिन छ । पहिलेका समस्या दोहोरिन सक्छन्, तथापि व्यवसायमा लगानी बढाउन सकिने छ । उपचारमा खर्च हुने योग रहेकोले आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु उचित हुनेछ ।

कन्या

नयाँ कामको प्रस्ताव आउने तथा विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । रचनात्मक कार्यका लागि अभिप्रेरित गर्नेहरू भेटिनेछन् । तपाईंका कामको तारिफ हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ला ।

तुला

बोलीको भरमा काम सम्पादन हुने समय छ । मान सम्मान बढ्नेछ भने विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । चुनौतीहरू स्वतः हट्ने छन् र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

बृश्चिक

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने छ । शत्रुपक्ष परास्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । पढाइलेखाइमा खासै मन नजाला ।

धनु

दिन उत्साहप्रद रहला । विगतका कमी कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । समाजको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने समस्यामा पार्न सक्छ, ध्यान राख्नु होला ।

मकर

आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने तथा व्यावसायिक काममा खर्च बढ्ने योग छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिने छन् ।

कुम्भ

विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिउला । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ ।

मीन

सामाजिक कामको दायित्व बढ्ने र व्यवसायमा लाभ लिने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । नयाँ काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।

सम्बन्धित समाचार