कर्मचारीले राजनीतिक दलको सदस्यता लिए कारबाही हुने

0 Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाई क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गरेकी छन् ।

उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानूनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनु पर्ने बताइन् ।

मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवं प्राध्यापक र कर्मचारीलाई कारबाही गर्नसमेत सम्बन्धित निकायलाई आह्वान गरेकी छन् ।

शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको कानूनी प्रावधान उल्लेख गर्दै कार्यान्वयनमा मन्त्रालयको प्रतिबद्धतासमेत सन्देशमा उनले व्यक्त गरे ।

उनले भनिन्, “म आह्वान गर्न चाहन्छु सबै जनालाई कानूनमा स्पष्ट भनिएको छ प्राध्यापक, शिक्षकहरुले राजनीतिक सदस्यता लिएमा पदबाट हटाइने व्यवस्था रहेछ, अब यो कार्यान्वयनको पाटोमा जानु पर्छ ।”

उनले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि सरोकारवाला सबैलाई आग्रह गरिन् ।

यस्ता उजुरी र गुनासोउपर काम एवं कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायलाई मन्त्री श्रेष्ठले सन्देशमा आह्वान गरेकी छन् ।

सम्बन्धित समाचार