काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिए ।
प्रमाणीकरण भएका विधेयकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।
यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । यी विधेयक आजै संघीय संसद्का दुवै सदनबाट पारित भएका थिए ।