हिमपातसँगै वर्षा भएपछि किसानले पाए राहत

0 Shares

काठमाडौं । म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ ।

वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जी खेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो ।

हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगंगा गाउँपालिका ३ का नरबहादुर भण्डारीले बताए ।

उनका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ ।

यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । जिल्लाको गुर्जा, कुइनेमंगले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि हिमपात हुन थालेको छ ।

हिउँदयाम सुक्खा हुँदा खेतीबालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको धवलागिरि गाउँपालिका ५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताए ।

जिल्लाको पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायत पर्यटकीयस्थलमा हिमपात भएको छ । हिउँमा रमाउन उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् ।

सम्बन्धित समाचार