काठमाडौं । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका ५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक एक हजार आम्दानी गर्न थालेका छन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् ।
“दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भनिन्, “दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।”
उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन् ।
“सुरुमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफैँ घर निर्माणको ठेक्का लिन थालेकी छु”, डगौराले भने, “अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक रु एक हजार आम्दानी हुन्छ ।”
पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसकेकी छन् । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ ।
“अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ”, उनले भनिन्, “पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो ।”
निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ ।
परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरुको आश्वयकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताए ।
“परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभाम्वित छन्”, उनले भने, “यस परियोजनाबाट न्यून आयस्तर भएका महिलाको जीविकोपार्जनमा सुधार आएको छ ।”
वेदकोट नगरपालिका ४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिला आत्मनिर्भर बन्न सहयोग पुगेको बताए । उनले व्यवसाय गर्ने महिलालाई तालिम मात्रै नभई आर्थिक रूपमा पनि सहयोग गरिरहेको बताएका थिए ।