बिल गेट्सले बनाइदिएको फोहर प्रशोधन केन्द्र प्रयोग हुन सकेन

0 Shares

काठमाडौं । अमेरिकी डलर अर्बपति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को ७ करोड ८१ लाख अनुदानमा मेचीनगर १४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ ।

फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो ।

दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले १ करोड ३८ लाख थप गरी कूल लागत ९ करोड १८ लाख ८८ हजारमा नौ सय २३ मा प्रशोधन केन्द्र निर्माण भएको थियो ।

दाताको अनुदान र स्थानीय तहको संयुक्त साझेदारीमा जे लक्ष्यका साथ केन्द्रको स्थापना भएको थियो, सञ्चालनको पाँच वर्षमा कुनै पनि उपलब्धि हुनसकेको छैन ।

संस्थाका अध्यक्ष राजन चिमरियाले प्रशोधनका लागि आवश्यक दिसाजन्य लेदो, दक्ष प्राविधिक जनशक्ति र सञ्चालन स्रोतको अभावले केन्द्र परिणाममुखी बन्न नसकेको बताए ।

“प्रशोधनका लागि महिनामा १५० ट्याङ्कर लेदो पदार्थ आवश्यक पर्छ”, उनले भने, “तर महिनामा १८ देखि ३० ट्याङ्करभन्दा बढी लेदो पदार्थ कहिल्यै संकलन हुन सकेन । प्राइभेट ट्यांकरहरूले खोला र जङ्गलतिर फालिदिने भएकाले यहाँ लेदो पर्याप्त संकलन हुनसकेन ।”

केन्द्रमा लेदो प्रशोधनका लागि निर्मित २८ वटा ट्यांकीमध्ये पाँच वर्षमा १४ वटा पनि भरिएका छैनन् । बाँकी १४ वटा ट्यांकी खाली छन् । लेदो, पानी र प्रांगारिक मलको रासायनिक तथा जैविक परीक्षणका लागि स्थापना गरिएको अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएको छैन ।

संस्थालाई दिसाजन्य लेदो ओसारपसारका लागि दाताले एउटा ट्यांकर दिएका छन् । कार्यालय प्रयोजनका लागि दुईतले पक्की भवन, प्रयोगशाला भवन, दर्जनौँ प्रशोधन प्रविधियुक्त संरचना, उत्पादित प्राङ्गारिक मल राख्ने र सुकाउने व्यवस्थित पक्की टहरा निर्माण गरिदिएको छ ।

सम्बन्धित समाचार