प्रधानमन्त्री ओलीविरुद्ध बालेनका सल्लाहकारले किन हाले मुद्दा ?

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं महानगरका मेयर बालेन साहका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।

गिरीबन्धु टी इस्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध आज अवहेलना मुद्दा दायर भएको हो ।

सर्वोच्चको फैसला कार्यान्वयन नगरी प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको अधिवक्तासमेत रहेका अर्यालको दाबी रहेको छ ।

अर्यालले प्रधानमन्त्री ओलीसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको हो । उक्त मुद्दालाई फागुन ४ गतेका लागि पेसी तोकिएको छ ।

मुद्दामा सर्वोच्च अदालत, संवैधानिक इजलासबाट अघिल्लो वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको सरकारले अवरोध गरेको उनको माग रहेको छ ।

अर्याल संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्षसमेत हुन् । यसअघि गिरीबन्धु टी इस्टेटमा मेयर साहले खुलेर ओलीको विरोध गर्दै आएका थिए ।

सम्बन्धित समाचार