काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोडको धरौटी बुझाएर रिहा भए । यसअघि उनले कास्की र काठमाडौं अदालतमा धरौटी बुझाएर रिहा भएका थिए ।
धरौटी रकम बुझाएर उनी आइतबार राति पोखरा हिँडेका छन् । राति अबेर आएको फैसलापछि ठूलो रकम धरौतीका लागि केही समय लागेको थियो । प्रभु बैंकबाट बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएपछि रिहा भएका थिए ।
अदालत परिसरबाट उनी मंगलबारदेखि बस्दै आएको होटलमा पुगेर साढे ९ बजेपछि पोखरा जाने निर्णयमा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोपमा दर्ता भएको मुद्दामा लामिछाने मंगलबार साँझ रुपन्देही आएर देवकोटाचोकको होटल मेरिगोल्डमा बस्दै आएका थिए ।
उनको सचिवालयले राति नै पोखरा जान लागेको पुष्टि गरेको हो । उनी श्रीमती निकिता पौडेलसहित सचिवालयका सदस्यसँग पोखरा लागेका हुन् ।