आज तराईमा हुस्सु, पहाडी क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना

0 Shares

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भागमा मौसम सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपात हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार