‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै छोरी खोज्न थालेँ’

0 Shares

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन् ।

रुकुमबाट काठमाडौंका लागि छुटेको खड्का चढेकी यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला ६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकामा चोट लागेको छ ।

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौं थिइन् । घरबाट खाना खाएर सोमबार बिहान साढे ९
बजेतिर चारै जना बसमा चढे ।

मंसिरमा शिक्षक पेसाबाट सेवानिवृत्त हर्कबहादुरको काठमाडौंमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भएकी हुन् । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा काठमाडौंमा राम्रो उपचार गर्ने योजना थियो ।

बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा गुडिरहेको थियो । साँझ पर्दै थियो । रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरुको अनुमानविपरीत बस नरोकी अघि बढ्यो ।

यात्रुहरु आफ्नै तालमा कोही निदाइरहेका थिए । कोही मोबाइल हेरिरहेका थिए । सरिता छोरीलाई काखमा सुताएर निदाइरएकी थिइन् । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले ।

सरिता पनि झल्यास्स भइन् । काखको छारीलाई च्याप्प समातिन् । बस एक बल्डङ खाएको सरितालाई याद छ । उनी त्यही अड्किएछिन् । मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भनिन्, ‘एक्कासि बस गयो, गयो, भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी–छोरी भनेर चिच्चाएँ ।’

भाञ्जाले माथि छन् भनेपछि सरिता विस्तारै उठेर छोरी भएको ठाउँमा पुगिन् । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्किन् । बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू÷ससुरासहित पाँच जनाको मणिपालमा उपचार भइरहेको छ ।

दुर्घटना कसरी भयो भन्ने उनलाई केही जानकारी छैन । बस एक्कासि सडकबाट तल खसेको मात्र उनलाई थाहा छ । पछि घाइतेले बस तीव्र गतिमा भएको बताएको सरिताले बताइन् ।

अहिले सरितालाई काठमाडौं जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ । ‘किन काठमाडौं जान लागेँ हुँलाजस्तो भइरहेको छ,’ उनले भनिन्, ‘ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नु पर्ने रहेछ ।’

उनका ससुरा हर्कबहादुर, सासू लिला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा. नवराज बस्ताकोटीले जानकारी दिए ।

दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने घटनामा २८ जना घाइते छन् । घाइतेहरुको पोखरासहित बाग्लुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार