काठमाडौं । लामो प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पेस गरेका हुन् ।
विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनः संरचना सँगसँगै प्रशासनिक पुनः संरचना प्रस्ताव संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानूनलाई संघीयताअनुरुप सञ्चालन, व्यवस्थापन गर्नु पर्ने आवश्यकतालाई सम्बोधन गर्न कानून ल्याइएको बताए ।
उनले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने आवश्यकता रहेका औँल्याए ।
उनले निजामती सेवालाई राष्ट्रहित, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा व्यवस्था गर्न आवश्यक भएकाले संघीय निजामतीसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको बताए । मन्त्री जोशीले विधेयकले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सहज हुने बताए ।
त्यसअघि ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । सरकारले गत फागुन २१ गते ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ संघीय संसद्मा दर्ता गरेको थियो ।