काठमाडौं । आज विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्देश दिएका छन् ।
एमाले अध्यक्ष ओलीले आफ्नो अनुभवसहितका केही सुझाव दिएका हुन् । उनले मिर्गौला जोगाउन आफैँ सजग हुनु पर्ने बताए ।
‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ, किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु, हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ, जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ, प्रत्यारोपण गर्नु धेरै जटिल काम हो, डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ,’ उनले भने ।
ओली थपे, ‘हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ, मिर्गौला जोगाउन हामी आफैँ सजग हुनुपर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो, स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !’
‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मिर्गौला दिवस मनाइँदै छ ।