डेँगीबाट कांग्रेसको प्रदेश सांसद गौचनको निधन

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् कांग्रेस गण्डकी प्रदेश कार्य समितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

पार्टीको भ्रातृ संस्था नेपाल महिला संघ म्याग्दीकी पूर्वअध्यक्षसमेत रहेकी गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । उनी राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत थिइन् ।

गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरे ।

सम्बन्धित समाचार