0
Shares
काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । वर्षाका कारण खेल खेल्ने अवस्था नभएपछि रद्द भएको हो ।
अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले एक ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो । वर्षाका कारण रोकिएको खेल सुरु भएर छ ओभर खेलेपछि मौमस प्रतिकूल भई पुनः रोकिएको थियो ।
पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । नेपालले आफूले खेलेका १२ खेलमध्ये २ वटामा मात्र जित निकालेको छ । यस्तै ८ खेलमा हार र २ खेल रद्द हुँदा नेपाल ६ अंकका साथ सातौं स्थानमा छ ।