काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) किरण राणा र प्राविधिकतर्फका डीआईजी डा. सुन्दरप्रसाद ह्योजुको बढुवा भएसँगै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको थियो । सरकारबाट बढुवा भएसँगै रातारात उनीहरूलाई आईजीपी वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । तर, राणा ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ गते अवकाशमा जाँदै छिन् । उनी जम्मा एक दिन एआईजीको पदमा बस्ने छिन् ।
एआईजीमा बढुवा भएसँगै डा. ह्योजु प्रहरी अस्पतालको प्रमुख भएका छन् । उनी प्रहरी अस्पतालका सिनियर चिकित्सक हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणासँगै ह्योजुलाई कार्तिक ४ मा प्रहरीको बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।