तिला नदीमाथि मोटरेबल पुल निर्माण, जोखिमपूर्ण यात्राबाट मुक्त

0 Shares

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका १ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।

तिला ६ का वडाध्यक्ष जंगबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको छ । उनले भने, ‘पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।’

अब पुल निर्माण भई सञ्चालनमा आएपछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला ९ का स्थानीयवासी खड्का रावतले बताए । पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो ।

अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिमपूर्ण यात्राबाट मुक्त भएको तिला ९ का वडाध्यक्ष धनबहादुर रावतले बताए । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुग्ने भएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

संघीय सरकारअन्तर्गतको सडक विभागको १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेको छ ।

तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै स्थानीयवासी, साना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ ।

पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनु पर्ने अवस्था रहेको थियो । अब पुल निर्माणसँगै सवारी साधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन् ।

सम्बन्धित समाचार