पाक्न लागेको धान असिनाले सखाप, पराल मात्रै बाँकी

0 Shares

काठमाडौँ । आइतबार साँझ भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा सुकाएको धानमा असिनाले क्षति गरेको किसानले बताएका छन् ।

असिना पानीले धान बालीमा क्षति पुर्याएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण संकलन गर्न किसानका खेतमा पुगेका छन् । असिनाले सबैभन्दा बढी क्षति ज्यामरुककोटमा पुर्याएको बेनी नगरपालिका २ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

“अहिले हामी क्षतिको विवरण संकलन गर्न किसानका खेतमा पुगेका छौँ, अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ, किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्, केही दिनभित्र क्षतिको पूरै विवरण संकलन हुन्छ”, उनले भने ।

असिनाले जिल्लाको बेनी २ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका बेनी नगरपालिका २ का वडा सदस्यसमेत रहेका चन्द्रकान्त रिजालले बताए ।

रिजालका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा झारिदिएको छ । त्यसैगरी, नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताए । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिए पछि किसान चिन्तित अवस्थामा पुगेको बेनी–२ सानालेखका नारायण शर्माले बताए ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?”

विगतमा पनि यही समयमा असिना र वर्षाका कारण क्षति बेहोर्दै आएका कृषक यस वर्ष पनि यही बेलामा क्षति भोग्न बाध्य भएका हुन् । विगतका वर्षको तुलनामा यस वर्ष अधिकांश ठाउँमा धानखेती निकै सप्रिएको र उत्पादन बढ्ने अनुमान गरिएकामा उच्च क्षेत्रमा भने असिनासहितको वर्षाले असर गरेको हो ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिको विवरण संकलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्यांक कार्यालयमा नआइपुगेको बताए ।

सम्बन्धित समाचार