काठमाडौँ । नागढुंगा-नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग अनिश्चित कालका लागि बन्द गरिएको छ ।
धार्के-ठूलो खोलामा दोस्रो तहको कालोपत्र सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका ५ का वडाध्यक्ष विशाल भट्टराईले जानकारी दिए ।
उनले भने, “आजदेखि धार्के-ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ, अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो ।”
उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका ५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इञ्चार्ज रामचन्द्र न्यौपानेले जानकारी दिए ।
उनले भने, “हामीले नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्ने गरी तीन-तीन किमीका दरले काम गर्नेछौँ, तिहारसम्म आधा काम सकिन्छ ।”
यस पटकको दशैँमा सवारी जामका कारण नागढुंगा-नौबिसे सडकको सट्टा सीतापाइला-धार्के सडक प्रयोगमा ल्याइएको थियो । अधिकांश साना सवारी साधन सीतापाइला-धार्के हुँदै गुडेका थिए ।
नागढुंगा-नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दशैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ ।
सीतापाइला-धार्के सडक कूल २४ किलोमिटर लम्बाइ र सीतापाइला-रामकोट-भीमढुंगा-महेशफाँट हुँदै धार्केमा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिए ।