काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतमा लैजाने भएपछि पोखरामा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर ठगी गरेको आरोपमा गत शु्क्रबार पार्टी कार्यालयबाट लामिछाने पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । पार्टी सभापति पक्राउ परेसँगै रास्वपाका नेता तथा कार्यकर्ताले आन्दोलन गरिरहेका छन् । सहकारी पीडितहरूले आफ्नो पक्षमा प्रर्दशन गरेका छन् ।
पोखरामा दुई पक्षको प्रर्दशन भएसँगै आन्दोलन कम गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले दुई स्थानमा निषेधित क्षेत्र घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आज बिहानदेखि अर्को सूचना नहुँदासम्म निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
पोखराको सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्र समावेश गरिएको छ । सहिद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधाज्ञा अवधिमा उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएमा कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।