काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका ३ पचाइन टोलमा करेण्ट लागेर एक किशोरीको मृत्यु भएको छ । घटनामा दुई किशोरी घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवालले बताए ।
बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरुलाई करेण्ट लागेको थियो । स्थानीय विनोद महतोले जंगली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको नाङ्गो तारबाट उनीहरुलाई करेण्ट लागेको थियो ।
बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । उनीहरु दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ ।
खेतमा करेण्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कबिहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।