काठमाडौँ । दशैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले दशैँको अवधिमा कोशीमा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको जनाएको छ ।
घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको थियो ।
प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
सोही अवधिमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा पर्दा ५१ लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ ।