काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेण्टर नियुक्त गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत कात्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
उक्त शृङ्खलाका लागि पूर्वप्रशिक्षक दासानायकेलाई मेण्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
पूर्वप्रशिक्षक दासानायकेले उक्त प्रतियोगिता अवधिभर नेपाली टोलीको मेण्टरको भूमिका निर्वाह गर्ने छन् । उक्त शङ्खलामा नेपालले पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ ।
त्यस्तै, नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्याण्डसँग खेल्ने छ । तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ । चौथो तथा अन्तिम खेलमा नेपालले कात्तिक १९ गते स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोली जनकपुर बोल्ट्सले दासानायकेलाई केही दिनअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
लिग २ को उक्त शृङ्खला सकिएपछि दासानायके नेपाल प्रिमियर लिगका लागि नेपाल आउने बताइएको छ ।