काठमाडौं । म्याग्दी धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको हो ।
प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए । “हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उनले भने, “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल भएको छैन् ।”
बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । सम्बद्ध टे«कीङ कम्पनीले अनुकुुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए ।
प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।