नागढुंगा-मुग्लिन सडक: जोखिम छ, तर आत्तिनु पर्दैन

0 Shares

काठमाडौँ । सडक कुनाको भित्ताबाट खसेका साना पहिरो नालीमै छन् । आवतजावत छेकिने गरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ ।

कृष्ण भिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन । त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडक खण्डको वास्तविक अवस्था यही हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले भने, ‘जो कोही पनि सहजै यात्रा गर्न सक्नु हुन्छ, कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहाले छ भने धनजनको क्षति हुन नदिन हामी चौबिसै घण्टा तपाईको साथमा छौँ ।’

एक साताअघि चार दिन निरन्तर परेको वर्षाका कारण झरेको पहिरो र गेग्रानले सडक कतै धुलाम्मे छ । भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ ।

सडक विस्तारको काम गर्ने क्रममा भित्ता खारेको स्थानबाट खसेर सडकमा फिँजारिएको माटोले घाम लाग्दा धुलो उड्नु र पानी पर्दा हिलो हुनुलाई यतिबेला सामान्य मान्नु पर्छ । हरेक चालक होसियार भएर सवारी नियमको पालना गर्ने हो भने सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन सकिन्छ ।

दुई पाङ्ग्रे मोटरसाइकल-स्कुटरदेखि चार पाङ्ग्रे कार जिपदेखि ठूला यात्रु बस सबै किसिमका सवारी यही सडकमा चलेको छ । राजमार्ग एक मिनेट पनि खाली छैन ।

दशैँ मनाउन घर फर्किनेको भीडले पृथ्वी राजमार्ग रात दिन व्यस्त छ । गृह मन्त्रालयबाट जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मेवारी लिएर कार्यालय प्रवेश गर्नु अघिदेखि सडकको जाम हटाउन र जोखिमपूर्ण स्थानको निरीक्षणमा खटिएका प्रहरी उपरीक्षक शाही बताउँछन्, ‘यस्तो अवस्थामा सडक छेउकुनामा डोजर चलाएर कुदिरहेका सवारीलाई पर्खाउन सक्ने अवस्था छैन ।’

त्रिभुवन राजपथको सिक्रेखोलादेखि नागढुंगासम्म यतिबेला अत्यधिक धुलो छ । साना सवारीले झ्यालढोका बन्द गरेर हिँड्छन् । तर, मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ ।

साना तथा हलुका अधिकांश सवारीले धार्के-सीतापाइला सडक प्रयोग गरिरहेका छन् । धादिङको गल्छीबाट नुवाकोटको गँगटे, छहरे हुँदै काठमाडौँ प्रवेश गर्ने र त्यही सडक प्रयोग गरेर काठमाडौँबाट बाहिरिने सवारीको संख्या पनि कम छैन ।

पछिल्लो समय चित्लाङ र पालुङ भएर हेटौँडा निस्कने सडक मर्मत भएपछि पनि नागढुंगा नौबिसे सडकलाई सवारीको भार केही कम भएको छ । सवारीको भार कम भएसँगै जामको चुनौती पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

नागढुंगा नौबिसे क्षेत्रका पहिरो पूर्ण रूपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुन कुनै बेला पहिरो झर्न सक्ने र ढुङ्गा खस्न सक्ने जोखिम छ । जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनगर गरेर पनि साना तथा हलुका सवारीलाई धादिङको वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले सुझाव दिने गरेको छ ।

सडकमाथि भित्ताबाट सडकमा खसेका गेग्रान ढुंगा, नाली थुनिएर सडकमा बगेको पानी, सफा गर्दै गरेको पहिरोले नौबिसे नागढुंगा खण्डमा जस्तै पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा पनि साना सवारी र दुई पाङ्ग्रे सवारीलाई जोखिमपूर्ण नै छ ।

नागढुङ्गादेखि मुग्लिनसम्म करिब ५० भन्दा बढी स्थानमा पानी परेपछि गाडी छेकिने किसिमको पहिरो छ । यसअघि सवारी छेकिने गरी पहिरो झरेका स्थान, निर्माणाधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुवैतर्फ ट्राफिक प्रहरी र जनपथ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरीले समेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।

 

सम्बन्धित समाचार