काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असोज २४ गते फूलपातिका दिन काठमाडौँ-भैरहवा गन्तव्यमा उडान गर्ने भएको छ ।
दशैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउने उद्देश्यले निगमले उद्धार उडान गर्ने निर्णय गरेको हो । निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
राष्ट्रलाई समस्या परेका बेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ ।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने आउने राजमार्ग बाढी पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाइ भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।
निगमको उडान तालिकाअनुसार २४ गते उडान नम्बर आए.ए. १७ ३३ विमान काठमाडौँबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्ने छ । भैरहवाबाट काठमाडौँ उडान नम्बर आर.ए. १७४३ १२ः ३० बजे भर्ने छ । यो गन्तव्यमा काठमाडौँ-भैरहवा सात हजार र भैरहवा-काठमाडौँ तीन हजार ८९० निर्धारण गरिएको छ ।