दशैँ मनाउन घर जानेको भिड, टिकट पाउनै मुस्किल

0 Shares

काठमाडौँ । बडादशैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।

दशैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार १६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार ४६५ जना काठमाडौँबाट बाहिरिएका छन् ।

दशैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारी साधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दशैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौँ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए ।

उनले भने, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन्, कति नरमाइलो लागेको छ ।”

यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौँबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए ।

उनले भने, “वर्ष दिनको चाड घर जानै पर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदै छु ।” उनले जस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन् ।

सम्बन्धित समाचार