काठमाडौं । धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।
कपिलवस्तुको भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो । हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका ९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १२ का नर्मदा सुवेदीको शव फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
गैरेको शव दुर्घटना स्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटना स्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो । बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । घटनामा ३९ यात्रु घाइते भएका थिए ।