काठमाडौं । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका गिरीसहित छ जनालाई जरिवाना तोकेको थियो ।
उक्त मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई दोधारा चादँनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि अदालत पेस गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्तलाई स्थानीय घर ठेगानाबाटै पक्राउ गरिएको हो । तत्कालीन फैसलामा अदालतले दुई सयदेखि चार सयसम्म जरिवाना तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक चक्रराज जोशीले फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने क्रमले गति लिएको बताए ।
तीन दिनको अवधिमा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट फरार रहेका २५ जनालाई कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कुटपिट, अभद्र व्यवहार, जबर्जस्ती करणी, सवारी ज्यानलगायतका मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए ।