गगन थापाको टिप्पणी- १७ हजार मुर्दावाद भन्नेसहितको सरकार आफ्नो भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ

0 Shares

नेपाली कांग्रेससमेत सम्मिलित भएको गठबन्धन भत्कियो । र नयाँ गठबन्धन बन्यो । यत्रो राजनीतिक घटना भइसकेपछाडि पार्टीका साथीहरुलाई केही भन्न मन लागेको थियो । तर नेपाली कांग्रेसको बैठक बसेर आधिकारिक धारणा पहिले सार्वजनिक होस त्यसपछि त्यसमै टेकेर केही कुरा राखौँला भन्ने मैले सोचेँ ।

हिजो केन्द्रिय कार्यसमितिको बैठक बसेर यस विषयमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । जसमा हामीले यो मंसिरमा भएको निर्वाचनको म्याण्डेडलाई कुठाराघात गर्दै अविश्वसनीय ढंगले प्रधानमन्त्रीले गर्नु भएको यो कामको विरोध गर्दै हामीले हामे समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौँ । यही निर्णयमा आधारित रहेर पाँच वटा बुँदामा मलाई लागेको कुराहरु पार्टीको साथीहलाई राख्छु ।

२०७९ सालको मंसिरमा भएको चुनावभन्दा अगाडि चुनाव अगाडि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा हामीभित्र भिन्नभिन्न मतहरु थिए । तपाईहरु सबैले थाहा पाउनु भएकै छ । तर हामीले अन्तिममा एउटा निर्णय गर्यौं । कि निर्वाचनभन्दा अगाडि गठबन्धन गर्ने । निर्वाचनभन्दा अगाडि पार्टीहरुबीचमा गठबन्धन गर्ने भनेको पार्टीहरुको मात्रै अनुबन्धन र सम्झौता होइन । त्यो नागरिकसँग मतदातासँग पनि सम्झौता गर्नु हो किनकी एउटा मतदाताले आफूले रोजेको चिह्नमा मत नहालेर अर्को पार्टीको चुनाव चिह्नमा मत हालेको हुन्छ ।

यसरी गठबन्धन चुनावभन्दा अगाडि गरिसकेपछाडि अर्को चुनावसम्मका लागि चाहिँ हामी त्यसमा बाँधिनु पर्छ भन्ने बारेमा हामी सबै प्रष्ट थियौँ । चुनावपछाडि पौष १० गते एउटा दुर्घटना भयो त्यसमा हाम्रो पनि केही कमीकमजोरी रहे । जसलाई हामीले त्यसबेला स्वीकार पनि गर्यौँ । र, हामीहरु सबै मिलेर त्यसलाई सच्यायौँ । फेरि चुनावभन्दा अगाडि हामी जुन दलहरु मिलेर गएका थियौँ । करिब करिब त्यही दल मिलेर गठबन्धनको सरकार बन्यो । यो सरकार बनिसकेपछाडि सरकारको गर्भनेन्सको कुरामा डेलिभरीको कुरामा सरकार ठिक ढंगले चल्यो कि चलेन भन्ने विषयमा हाम्रोभित्र भिन्नभिन्न मतहरु थिए । रहिरहे । यो गठबन्धनभित्र रहेको दलहरुबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा फरकफरक धारणाहरु रहे ।

निर्वाचनभन्दा अगाडिको गठबन्धन आफैमा ठिक हो कि होइन ? भविष्यमा गर्न हुन्छ कि हुँदैन ? भन्ने बारेमा त हाम्रोबीचमा राम्रैसँग वादविवाद भइरह्यो । भइनिरहेको पनि छ । तर एउटा कुरामा भने हामी सबै प्रष्ट थियौँ । र अन्तिमसम्म रह्यौँ । के निर्वाचनभन्दा अगाडि गठबन्धन गरेर चुनाव लडेको हुँदा हाम्रा मतदाताले पनि अरु पार्टीको चुनाव चिह्नमा मत हालेका छन् । अरु पार्टीका मतदाताले पनि हाम्रो चुनाव चिह्नमा मत हालेका छन् । त्यसैले मन परे पनि नपरे पनि २०८४ सम्म हामीले नागरिकसँग एउटा सम्झौतामा बाँधिएका छौँ । त्यसैले ०८४ सम्म योभन्दा तलमाथि गर्नु हुँदैन ।

केही कुराले बाँधिएर इमान्दारिताका साथ अन्तिम क्षणसम्म रह्यौँ । बीचमा केही तलमाथि भए तर, यो मूल बाटोबाट हामी तलमाथि गरेनौँ । एक पटक सोच्नुस् त माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेर चुनाव लड्छ । चुनाव लडेको केही दिनपछाडि नेकपा एमालेसँग मिलेर सरकार बनाउँछ । र, नेकपा एमालेसँग मिलेर सरकार बनाएको केही दिनपछाडि सरकार छोडेर हामीहरुसँग बसेर सरकार बनाउँछ । र, अहिले एक वर्ष सकिसकेपछाडि फेरि नेकपा एमालेसँग मिलेर सरकार बनाउँछ । गठबन्धन जोड्ने भत्काउने क्रम चलिराख्छ ।

त्यो सरकारमा नेपाली कांग्रेसलगायत जुन दलहरु सम्मेलित छ, यत्रो सरकार विघटन गरेर अर्को सरकार नयाँ बनाउँदै गर्दा एकपटक सरकारको बैठक राख्नु पर्दैन ? गठबन्धनको आधारमा निर्वाचन लड्यौँ । गठबन्धन भनेर हामीहरु लगातार अगाडि गइहरहेका छौँ । यत्रो गठबन्धन तोडेर अर्को नयाँ बनाउँदै गर्दा एकपटक बैठक राख्नु पर्दैन ? प्रधानमन्त्रीले त्यो बैठकको सामना गर्नु पर्दैन ? मैले यस कारणले गर्दा यो गरेँ भन्नु पर्दैन ? केही भयो ? केही पनि भएन, त्यस कारण पार्टीका साथीहरुलाई मेरो पहिलो आग्रह हामी निर्वाचनभन्दा अगाडि जनताको बीचमा एउटा सम्झौता गरेर गएको सम्झौताले बाँधिएको हुनाले गर्दा त्यो कुरामा इमान्दार रह्यौँ । अन्तिम क्षणसम्म रह्यौँ । तर माओवादी केन्द्र मूलतः यो विषयको सन्दर्भमा राजनीतिक बेइमानी गर्ने कुराबाट राजनीतिक धोकाधडीबाट पनि भनौँ । यो कुराबाट हिचकिचावटविना जाँदै गर्दा फेरि यो दुर्घटना भयो । कांग्रेसको प्रत्येक साथीले यो कुरा बुझ्नु पर्छ ।

यो गठबन्धन किन तोड्नु पर्यो भन्ने सन्र्दभमा माओवादीको नेताहरुको भिन्न विचारहरू आइरहेको छ । त्यही विचारको आधारमा सञ्चार माध्यममा पनि प्रशस्त विश्लेषण भइरहेको छ । कतिले सरकार सञ्चालन गर्ने कुराको सन्दर्भमा माओवादीको नेता र प्रधानमन्त्रीलाई असहज महसुस भयो । त्यो कारणले गर्दा यो खालको कुरा आइरहेको छ । कति महासमितिमा प्रस्तुत भएको दस्तावेजमा माओवादीको युद्धको बारेमा एकदम आपत्तिजनक टिप्पणी भयो वा गठबन्धनको बारेमा माओवादीलाई रुची नहुने विषय कांग्रेसले बोल्यो । यही कारणले गर्दा यस्ता विषय आयो भन्ने खालको कुराहरु पनि हामीहरुले सुनिरहेका छाँै । तपाईहरु यसलाई पत्याउनु हुन्छ ? नपत्याउनुस् । अलमलिनु भएको छ । नअलमलिनुस् । यो म किन भनिरहेको छु भने यसमा एउटा पनि पत्याउनु पर्ने कुरा छैन । यो सब बहानाबाजी भन्दा अरु केही पनि होइन ।

नेकपा एमालेको पछिल्लो दस्तावेजमा तपाईले हेर्नु भयो भने के पाउनु हुन्छ भने प्रचण्डको अर्थ भनेको विदेशी प्रतिक्रियावादीहरुको इच्छा पूरा गर्न बचनबद्ध भएको यो मैले भनेको होइन् । नेकपा एमालेको दस्तावेजमा भनेको हो । नेकपा एमालेको सबैभन्दा पछिल्लो दस्तावेज मैले पढेको यसमा के लेखेको रहेछ भने, विभिन्न शक्ति केन्द्रहरुको उक्साहटमा राजनीतिलाई अस्थिर, प्रतिगामी र जनविरोधी अग्रसर गराउन यसको निरन्तर मुख्य भूमिकामा देखिएका छन् । संसदीय अंक गणितमा प्राप्त भएको संख्यालाई सत्ताको सौदाबाजीको निमित्त प्रयोग उसको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको छ ।

यो नेकपा एमालेको दस्तावेजमा लेखिएको कुरा हो । नेपाली कांग्रेसले यस्ता कुनै टिप्पणी गरेको छ ? अनि नयाँ गठबनन्धन बन्नुभन्दा पहिला नेकपा एमालेले मेटेको छ ? अनि यो गठबन्धन आएको अर्को दल हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । रास्वपाको आधिकारिक नारा के हो अहिलेको ? १७ हजार मुर्दावाद, तपाईहरु सबैले सुनिराख्नु भएको छ । हामीले सबैले सुनिराखेका छौँ । त्यस कारण यो सबै बहानाबाजी हुन् भन्ने कुरामा प्रत्येक कांग्रेसका साथीहरु प्रष्ट हुनु पर्छ । यो हामीसँग समस्या होला । तर माधव नेपालले नेतृत्व गर्नु भएको पार्टी पनि गठबन्धनमा छ हैन ? त्यो पार्टीसँग एक पटक कुराकानी गर्नु पर्दैन ? त्यसैले प्रचण्डपछाडि माधव नेपाल प्रधानमन्त्री हुने र त्यसपछाडि नेपाली कांग्रेसको प्रधानमन्त्री हुने भनेर जुल दलहरूबीचको एउटा सम्झौता भएको थियो । माधव नेपाल प्रधानमन्त्री हुनुभन्दा पहिले त्यसलाई भत्काउनु पर्यो । किनकी कुनैबेला यो गठबन्धन बनाउनका लागि माधव नेपाललाई प्रधानमन्त्री दिने भनेर सबैभन्दा अगाडि अग्रसर भएर भन्ने ।

अहिले आइसकेपछाडि त्यही आफूले गरेको सम्झौता फेर्ने आफूलाई गलपासो भइसकेपछाडि यसलाई भत्काउनको निम्ति यो गठबन्धन उनलाई तोड्नै पर्ने थियो । फागुनमा अहिले टुट्यो । फागुनमा नभए चैतमा टुट्थ्यो । चैतमा नभए जेठमा टुट्थ्यो । जेठमा नभए असारमा टुट्थ्यो । त्यसैले यो कुनै न कुनै बहाना बनाएर आफूलाई केन्द्रमा राखेर माओवादी केन्द्रको नेताले यो गठबन्धनलाई दुर्घटना लानु हुन्थ्यो भन्ने कुरामा नेपाली कांग्रेसका प्रत्येक साथी स्पष्ट हुनु पर्छ ।

यो गठबन्धनको भविष्य के होला नयाँ बन्दै गरेको भन्ने बारेमा पनि केही विचार पढिरहेका छौँ । सुनिरहेका छौँ । यर्थाथमा गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यान नभएर बाँडीचुडी खाने सत्ता स्वार्थको अवसरमा हो । भागबण्डा नमिल्नासाथ भोलि कुनै पनि बेला गठबन्धन भत्किने । नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र बिक्रित अभ्यासको पुनरावृति हुने प्रष्ट छ । यो मैले भनेको होइन । तपाईले अहिले नेकपा एमालेको वेवसाइड हेर्नु भयो भने देख्नुहुन्छ ।

सम्पूर्ण पुराना दलहरुलाई अपिल, देशमा व्याप्त बेथितिलाइए ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो चार वर्ष तपाईहरु सबै मिल्नुस । देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको सहमतिय सरकार बनाउनुस । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । कांग्रेस, एमाले, माओवादी, भएका जति सबै मिल्नस, हामी अब ०८४ अगाडि कोहीसँग मिल्दैनौँ । तपाईहरु सबै मिलेर रास्वपाविरुद्धको गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै गन्तव्य एउटै भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै ? एक ढिक्का भएर एउटै दल बने हुन्छ । यो मैले भनेको होइन । यो रास्वपाका सभापतिको आधिकारिक भनाइ हो । त्यसैले यो गठबन्धनमा गएका दलहरु केही समयअगाडिसम्म के भन्दै थिए भन्ने आधार मैले भने । यो कसरी बन्यो होला ? किन बन्यो होला भन्ने हामीले अनुमान लाउन सक्छौँ ।

कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइरालाले यस्तो खालको सरकार बन्दै गर्दा फु गर्ला डाल्दिन्छु भन्नु हुन्थ्यो । म त्यसो भन्दिनँ । किनकी यो फु पनि गर्नु पर्दैन । मैले फेरि यो ढलोस् भन्ने कुरा पनि होइन । यो चलोस् राम्ररी । हामीहरु विकल्पविहीन भन्नेहरु र विकल्प सबै हामीसँग छ । सबै कुरा हामी गर्छौँ भन्नेहरु एक ठाउँमा आएर गरेको छ । राम्रो गर्नुहोस । तर मैले गर्नुहोस भनेर हुन्न । यो आफै यसरी बनेको छ, यो हिड्नै सक्दैन । यो आफै आफ्नो भारीले थिचिन्छ । यो फतक्क कुहिएर झर्छ ।

नयाँ पार्टीको कुरा सुन्यौँ । नेपाली कांग्रेस पार्टीले हामीलाई प्रधानमन्त्रीको अफर गरेको छ । गठबन्धनभित्र गृह मन्त्रालयको बार्गेनिङ बढाउनका लागि यी खालका अफवाह फैलाउने काम यसरी गरिरहेका छन् भन्ने कुरा अरुले बुझ्लान नबुझलान् गठबन्धन बनाउन भत्काउन खक्कु भएको यी दुइटा पार्टीका नेताहरुले नयाँ पार्टीले गरेको यो कुराबाट अलमलिन्छन् भन्ने ठान्नु भएको छ ? कुन मन्त्रालय लिने भन्नेबारेमा यहाँ अहिले यत्रो ठूलो लडाइँ छ । कुन मन्त्रालय लिने भन्नेबाट सुरु भएको यसको यात्रा आफै अगाडि बढाउन सक्दैन । यसका बारेमा धेरै चिन्ता नगर्नु होला ।

चुनावभन्दा अगाडि गठबन्धन गर्नु हुँदैन भन्ने कुरा मैले भन्दै आएको छु । लोकतान्त्रिक देशहरुमा यो हुँदै नहुने होइन हुन्छ । यो भारतमा पनि हुन्छ । हामीले पनि आवश्यक हुन्छ भनेकै हौँ । तर, ०७४ सालमा हामीले देख्यौँ हैन । ०७९ सालमा पनि हामी निर्वाचनअगाडिको गठबन्धन पनि हामीले हेर्यौँ हैन । निर्वाचनभन्दा अगाडि गठबन्धन गर्दा स्थिरता दिन्छ भन्ने हो । दियो स्थिरता ? जे दिन्छ भनेको त्यो दिएन । तर यसले विकृति दियो । दलीय प्रणालीमा यति धेरै यसले विकृति ल्याएर थपिदिएको छ । हामीले यसलाई गन्न पनि सक्दैनौँ । मतदाताले दललाई बुझ्छ । तर हामीले यसलाई नै रोकिदियौँ । अहिले देखिएको राजनीतिक नैराश्यको ठूलो कारण यही हो ।

माओवादीको यो गठबन्धन भत्काइसकेपछि हामी सबै बन्धनबाट मुक्त भएका छौँ । यो जायज भएको छ ।

 

सम्बन्धित समाचार