सोमबार नेप्से परिसूचक ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा

0 Shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २९ अर्ब ९५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको ३ लाख ९१८ पटकको कारोबारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन ४ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) मल्टीपर्पस फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अपि पावरको ७८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब ६६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.४९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।

सम्बन्धित समाचार