सहकारी हिनामिना प्रकरणमा पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरसँग बयान सकियो

0 Shares

काठमाडौं । सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ ।

ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको बारेमा समितिले सोमबार सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको हो ।

बयानमा सिंहले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बताएको समिति सभापति सूर्य थापाले बताए ।

‘उहाँले आफ्नो निजी सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराउनु भयो,’ थापाले भने ।

सिंह सोही सहकारी संस्थाका शेयर सदस्य हुन् । ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न सिंह केही समयदेखि अग्रसरता लिँदै कानूनी परामर्शमा थिए ।

सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवार बेलायत पलायन हुँदा सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफै लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका हुन् ।

भरतको पुल्चोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालिमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित उनी सक्रिय छन् । उक्त सहकारी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ ।

ब्युरोका अधिकृतका अनुसार पुल्चोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्युरोमा परेको छ । उक्त सहकारीका कोही पनि पक्राउ परेका छैनन् ।

प्रमुख सञ्चालक भरत महर्जनविरूद्ध पक्राउ पूर्जी साथै नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ । कालिमाटीको सहकारीबाट १५ करोड रुपैयाँ अपचलन भएको जाहेरी ब्युरोमा परेको छ । त्यहाँका दुई जना सञ्चालक सदस्य पक्राउ परेका छन् ।

पुल्चोकको सुमेरु सहकारी बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालयमा दर्ता छ भने कालिमाटीको सुमेरु काठमाडौं महानगरमा दर्ता छ । भरतले स्थापना गरेको पुल्चोकको सुमेरु सहकारीको हालको अध्यक्ष उनकी श्रीमती राजमाया महर्जन छिन् । कालिमाटीको सहकारीको अध्यक्ष छोरा सचिन महर्जन छन् । यी दुबै सहकारीमा महर्जन परिवारका नातागोता मुख्य हर्ताकर्ता रहेका छन् ।

पुल्चोकको सुमेरुको धापाखेल र गठ्ठाघरमा शाखा छ । उक्त सहकारीको धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज, शंकरापुर एकेडेमी छन् ।

सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्सलगायत डेढ एक दर्जन कम्पनी रहेका छन् । महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सहकारी सुरू गरेका थिए ।

 

सम्बन्धित समाचार