नेप्से ६.७० अंक बढ्यो, उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

0 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली धितोपत्रको दोस्रो बजारमा उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। यस दिन १३ उपसमूहमध्ये सो उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।

बिहीबार ६ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.८७ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने अरु उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२७ प्रतिशत घटेको छ।

यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।

यस दिन नेप्से परिसूचक भने ६.७० अंक बढेर २७६६.३८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक र फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन करिब १८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको २ लाख ९ हजार पटकको कारोबारमा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको करिब साढे ९२ करोडको शेयर किनबेच भएको छ।

सम्बन्धित समाचार