काठमाडौं । अक्टोबर ७, २०२३ देखि सुरु भएको इजरायल-हमास युद्धमा हालसम्म २९ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । समाचार एजेन्सी एएफपीका अनुसार युद्धपछि खाना नभएपछि गाजामा बस्ने एक जनाले आफ्ना छोराछोरीलाई घोडाको मासु खुवाएका छन् ।
जबलिया शरणार्थी शिविरमा बस्ने ६० वर्षीय अबु जिब्रिलले भने, ‘गाजाको अवस्था निकै खराब छ, खाने कुरा पाउन सकिन्न, केटाकेटी भोकले त्रसित थिए, घोडालाई मारेर त्यसको मासु खुवाउनुबाहेक मसँग अर्को विकल्प थिएन, भोकले हामीलाई मार्दै छ, त्यसैले मैले दुई घोडा मारेँ, परिवारबाट लुकेर घोडाको मासु पकाएर छोराछोरी र अन्य आफन्तलाई खुवाउँथेँ ।’
घोडाको मासु खाएको परिवारलाई बेखबर
अबु जिब्रिलले भने, ‘पकाएको घोडाको मासु खाँदा परिवारले कस्तो प्रतिक्रिया देखाउँछ ? भन्ने मलाई थाहा थिएन, त्यसैले मैले उनीहरूलाई केही भनिनँ, उनीहरूले घोडाको मासु खाँदै छौँ भन्ने थाहा पाएका छैनन्, हामी एकपटक भोकै सुत्न सक्छौँ, तर ४–५ वर्षका बालबालिकालाई कसरी सुताउने ? भोक लागेपछि रुन थाल्छन् ।’
एएफपीको रिपोर्टमा भनिएको छ कि मानिसहरूले आफ्नो पेट भर्न बिग्रिएको मकै खान थालेका छन् । कतिपयले जनावरलाई दिइने घाँस र पात खान्छन् ।
गाजालाई भोकमरीले गाँजेको अवस्था
भोकले ८ वर्षीया बालिकाको मृत्यु
युरोमेड ह्युमन राइट्स मनिटरका अनुसार फेब्रुअरी १७ मा गाजामा हानिन जुम्मा नामकी ८ वर्षीया बालिकाको खान नपाएर मृत्यु भएको थियो । बालिकाका बुबा सालेहका अनुसार मृत्यु भएको रात उनले आफूलाई भोक लागेको बताएकी थिइन् ।
गाडी नहुँदा बालिकालाई गधाको गाडीमा अस्पताल लगिएको थियो । जहाँ उनको भोक र तिर्खाका कारण मृत्यु भएको चिकित्सकले बताए । सालेहले भने, ‘उसले हरेक दिन खाना पाउन सक्दैन, धेरै दिनपछि संयुक्त राष्ट्रसंघको सहयोग पुग्छ ।’
खानाका लागि १० घण्टा लाइन
युद्ध सुरु भएदेखि इजरायलले गाजामा सहायता नपुगेको आरोप लगाउँदै आएको छ । उसले गाजा जाने बाटोहरू बन्द गरिरहेको छ । यस्तो अवस्थामा प्यालेस्टाइनीहरुलाई निकै कम सहयोग पुगिरहेको छ ।
प्यालेस्टाइनीहरूले खाना पाउन लाइनमा उभिनु परेको अल जजिराको रिपोर्टमा उल्लेख छ । करिब १० घन्टा पर्खिएपछि उनीहरुले खाना पाउँछन् ।
बाँच्नलाई खाना चोरी
इजरायलले हमासका आतंककारीहरूले गाजाका मानिसहरूलाई आवश्यक सामानहरू पुग्न नदिने बताएको छ । तिनीहरूले खाना चोर्छन् । अत्यावश्यक वस्तु लिन आएका मानिसहरूमाथि आक्रमण गरेपछि आतंककारीहरू ती सामान लिएर भागिरहेका छन् ।
इजरायली सेनाले यसको भिडिओ सार्वजनिक गरेको छ । जसमा हमासका आतंककारीहरूले राहत सामग्री चोरेको देखिएका छन् । सेनाले भिडिओसँगै लेखेको छ, ‘गाजाका जनताको आवश्यकताभन्दा आतंकवादीको आवश्यकता बढी महत्वपूर्ण छ ।’ एजेन्सी