किमको चीन भ्रमण हुँदै गर्दा दक्षिण कोरियामा उच्च निगरानी

0 Shares

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिना दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटमा किमको चीन भ्रमण हुन सक्ने संकेत गरेका थिए ।

दक्षिण कोरियाली प्रसारक केबीएसले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै चीनको सीमावर्ती सहर डान्डोङमा किमको सम्भावित भ्रमणको तयारी स्वरुप आपत्कालीन आदेश जारी गरिएको जनाएको छ । किमले गत अक्टोबरमा पनि उक्त सहरको अघोषित एकदिने भ्रमण गरेका थिए ।

दक्षिण कोरियाको जासुसी निकायले शनिबार विभिन्न घटना क्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । तर, राष्ट्रपति कार्यालयले सीले किमको भ्रमणबारे केबीएसले उल्लेख गरेअनुसारको कुरा नगरेको स्पष्ट पार्दै उत्तर कोरिया-चीन सम्बन्धको निगरानी भइरहेको जनाएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आफूलाई आणविक हतियार सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वार्ता प्रस्तावलाई बेवास्ता गर्दै आएका छन् । विशेषज्ञहरूका अनुसार प्योङयाङले वार्ताका लागि अमेरिकाबाट आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता खोजिरहेको छ, जसले वासिङ्टन र सियोलका लागि कूटनीतिक तथा सुरक्षा चुनौती निम्त्याउन सक्छ ।

विश्लेषकका अनुसार चीन भ्रमण भएमा किमले राष्ट्रपति सीसँग अमेरिका-चीन वार्ताको परिणाम तथा उत्तर कोरियाको अर्को सहयोगी रुससँगको सम्भावित त्रिपक्षीय शिखर बैठकबारे छलफल गर्न सक्ने छन् ।

सम्बन्धित समाचार