भारतसँग हवाई रुटमा सहमतिः भैरहवा र पोखरा विमानस्थल सञ्चालन भए अवसरको बाटो खुल्दै

0 Shares

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुटेको छ ।

यससँगै विशेषगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको प्रभावकारी केन्द्रका रुपमा विकास गर्ने नेपालको प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ र ७ गते सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको हो ।

दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रुपमा सञ्चालनमा रहेको काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख गरिएको छ । संयुक्त वक्तव्यको बुँदा नं ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रुप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिने छ ।’

यो सहमतिलाई नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहँदै आएको नेपालले अब पश्चिमी क्षेत्रबाट पनि जहाज प्रवेश तथा बहिर्गमनका लागि थप विकल्प प्राप्त गर्ने सम्भावना बनेको छ ।

प्राविधिक टोलीले थाल्यो काम

भारतसँग सहमति जुटेपछि नेपालले नयाँ हवाई रुट कार्यान्वयनका लागि आवश्यक प्राविधिक तयारी अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार संयुक्त प्राविधिक टोलीले रुट सञ्चालनसम्बन्धी काम सुरु गरिसकेको छ ।

नयाँ हवाई मार्ग कुन भौगोलिक विन्दुबाट नेपाल प्रवेश गर्ने, जहाजको उचाइँ कति हुने र भारतबाट नेपालतर्फ जहाज स्थानान्तरण हुने प्रक्रिया कसरी व्यवस्थापन गर्ने भन्ने विषय प्राविधिक छलफलबाट टुङ्गो लगाइने छ ।

क्यानका एक उच्च अधिकारीका अनुसार नेपाली पक्षले आवश्यक गृहकार्य सुरु गरिसकेको छ भने भारतीय पक्षलाई संयुक्त बैठकका लागि प्रस्ताव पठाउने तयारी भइरहेको छ । उनले भने, ‘ज्वाइन्ट टेक्निकल टिमले वर्कआउट सुरु गरिसकेको छ। कुन विन्दुबाट हवाई प्रवेशमार्ग प्राप्त हुने तथा कति उचाइमा भारतबाट नेपालमा जहाज ट्रान्सफर हुने भन्नेबारे दुवै देशका प्राविधिक टोलीले टुङ्ग्याउने छन् ।’

प्राविधिक छलफलबाट रुटको अन्तिम स्वरुप, उडान सञ्चालन प्रक्रिया, उचाइ निर्धारण तथा हवाई ट्राफिक व्यवस्थापनसम्बन्धी विषय टुङ्ग्याइने छ । त्यसपछि दुवै देशको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)मा आवश्यक सूचना प्रकाशित गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्ट अथोरिटी अफ इन्डियाले आ-आफ्नो एआइपीमा सूचना सार्वजनिक गरेपछि नयाँ हवाई मार्ग औपचारिक रुपमा कार्यान्वयनमा आउने छ । यसर्थ, दुई देशबीच राजनीतिक तहमा सहमति भए पनि यात्रुवाहक तथा अन्य अन्तर्राष्ट्रिय जहाजले नयाँ रुट प्रयोग गर्न प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा हुनुपर्ने छ ।

काठमाडौं विमानस्थलको चाप घट्ने अपेक्षा

नयाँ हवाई प्रवेशमार्ग सञ्चालनमा आएपछि नेपालको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।

हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तरराष्ट्रिय जहाजले बाराको सिमरा प्रवेशविन्दु प्रयोग गर्नुपर्ने अवस्था छ । सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जहाजले आवश्यकताअनुसार छोटो र सहज मार्ग प्रयोग गर्न पाएका छैनन् ।

भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले थप विकल्प प्राप्त गर्ने छन् । यसले जहाजको उडान दूरी र समय घटाउन सहयोग गर्ने छ । साथै अन्तर्राष्ट्रिय हवाई मार्गमा हुने चाप व्यवस्थापन गर्न र जहाजलाई लामो समय आकाशमै होल्ड गर्नुपर्ने अवस्था कम गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले थप हवाई प्रवेशमार्ग प्राप्त हुनु नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार यसले नेपालको हवाई क्षेत्रको उपयोग क्षमता तथा उडान सञ्चालन दक्षता बढाउने छ । जहाजको आवतजावत सहज हुने, इन्धन खपत कम हुने, यात्रुको समय तथा लागत बचत हुने र विदेशी पर्यटकको आवागमनमा समेत सकारात्मक प्रभाव पर्ने छ ।

‘थप हवाई रुट प्राप्त गर्नु नेपालका लागि ठूलो उपलब्धि हो। यसलाई परिपक्वता दिन केही प्राविधिक काम बाँकी छन्। दुवै देशका प्राविधिक टोलीले यसलाई टुंगोमा पुर्‍याएपछि कार्यान्वयनमा आउने छ,’ उनले भने ।

भैरहवा र पोखरा विमानस्थल सञ्चालनको मुख्य आधार

नेपालले थप हवाई प्रवेशमार्ग माग गर्नुको प्रमुख उद्देश्य भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नु हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यले ठूलो लगानी गरेको छ ।

तर निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि दुवै विमानस्थलबाट अपेक्षित रुपमा नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन । यसको एउटा प्रमुख कारण भारतीय हवाई क्षेत्रसँग जोडिने सहज प्रवेश तथा बहिर्गमन मार्गको अभावलाई मानिदै आएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण हुन्छ । भारततर्फको सहज प्रवेश र बहिर्गमन मार्ग नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिँदै आएको छ ।

भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट आउने अन्तरराष्ट्रिय जहाजलाई नेपाल प्रवेश गर्न र उडानपछि बाहिरिन थप सहज हुने अपेक्षा गरिएको छ । यसले विशेषगरी पश्चिमी मुलुकबाट आउने जहाजको उडान व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्छ ।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न पनि सहज हवाई सम्पर्क आवश्यक छ । पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जहाजलाई छोटो रुट उपलब्ध हुँदा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

यद्यपि, भैरहवा रुटसम्बन्धी पछिल्लो सहमतिले दुवै क्षेत्रका विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्ने सुनिश्चित गर्दैन । त्यसका लागि नियमित अन्तर्राष्ट्रिय उडान, वायुसेवा कम्पनीको व्यावसायिक चासो, यात्रु माग र अन्य पूर्वाधारसम्बन्धी पक्ष पनि महत्वपूर्ण रहने छन् ।

नेपालले भारतसँग भैरहवा रुट मात्र नभई पश्चिमी तथा अन्य क्षेत्रबाट अन्तर्राष्ट्रिय जहाज प्रवेश गराउन थप हवाई मार्गको माग गर्दै आएको छ । विशेषगरी महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप प्रवेशमार्ग उपलब्ध गराउन नेपालले भारतसँग आग्रह गरेको थियो ।

यस क्रममा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज प्रवेश गराउन सहमत भएको जनाइएको छ । यसलाई नेपालको पश्चिमी हवाई प्रवेश व्यवस्थापनका लागि अर्को महत्वपूर्ण सम्भावनाका रुपमा हेरिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारत सकारात्मक देखिएको छ । तर यी विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।

नेपालले तत्काल सम्भव हुने हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशस् वार्ताबाट टुङ्ग्याउन प्रस्ताव गर्दै आएको थियो । भारतले भने विभिन्न हवाई रुट तथा नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभन्दा समग्र प्याकेजमै समझदारी खोजिरहेको थियो ।

नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयसँगै भारतले बागडोग्रा विमानस्थलका लागि पनि नेपालसँग हवाई मार्गको प्रस्ताव गरेको थियो । दुई देशबीचको पछिल्लो सहमतिमा यी विषयलाई समेत प्राविधिक परामर्शमार्फत अघि बढाउने समझदारी भएको छ ।

जहाजको समय र सञ्चालन खर्च घट्ने

क्यानका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले भैरहवा हवाई रुट दुईतर्फी हुनु नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

उनका अनुसार पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले नयाँ रुट प्रयोग गर्न पाएमा उडान समय घट्ने छ । यसले जहाजको उडान अवधि, इन्धन खपत र सञ्चालन खर्चमा समेत सकारात्मक प्रभाव पार्ने छ ।

‘भैरहवामा एकतर्फी हवाई रुट छ। दुईतर्फी भयो भने नेपालमा पश्चिमबाट प्रवेश गर्ने जहाजको समय कम हुन्छ। अन्तर्राष्ट्रिय हवाई रुटको चाप पनि घट्छ। जहाजको आवर घट्छ र जहाजको साइकल पनि कम हुन्छ। काठमाडौं विमानस्थलको उडान चाप व्यवस्थापनमा टेवा पुग्छ,’ उनले भने ।

उनले सहमति कार्यान्वयन पक्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । हवाई उडानमा लाग्ने समय र इन्धन खर्च घट्नु वायुसेवा कम्पनीका लागि आर्थिक रुपमा महत्वपूर्ण हुन्छ । यसले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमान स्थलसम्म उडान सञ्चालन गर्न प्रोत्साहित गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसका अतिरिक्त जहाजले लामो समय आकाशमा होल्ड गर्नुपर्ने अवस्था कम हुँदा यात्रुको यात्रा समय घट्ने र उडानको नियमिततामा सुधार आउन सक्ने छ ।

एक दशकदेखिको कूटनीतिक प्रयासले पायो परिणाम

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो । यसअघि पनि नेपालका प्रधानमन्त्रीको भारत भ्रमण तथा उच्चस्तरीय द्विपक्षीय वार्तामा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरेको थियो । तर प्राविधिक विषय, सुरक्षा संवेदनशीलता र हवाई क्षेत्रको व्यवस्थापनसम्बन्धी मतभिन्नताका कारण ठोस सहमति हुन सकेको थिएन ।

नेपालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी गरे पनि ती विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्न भारतीय हवाई क्षेत्रसँग सहज सम्पर्क आवश्यक रहेको विषय निरन्तर उठाउँदै आएको थियो ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाइएपछि लामो समयदेखि रोकिएको हवाई रुटसम्बन्धी छलफलले सकारात्मक परिणाम दिएको हो । नेपालका लागि यो सहमति केवल एउटा नयाँ हवाई मार्ग प्राप्त गर्ने विषयमात्र नभई अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, क्षेत्रीय विमानस्थलको व्यावसायिक उपयोग र पर्यटन प्रवर्द्धनसँग समेत जोडिएको छ ।

नेपाल र भारतबीच भएको पछिल्लो सहमतिले नेपालको हवाई उड्डयन क्षेत्रमा नयाँ सम्भावना सृजना गरेको छ । तर यसको वास्तविक लाभ प्राप्त गर्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गर्नु आवश्यक छ ।

रुटको प्रवेशविन्दु, उडान उचाइ, हवाई ट्राफिक व्यवस्थापन, सुरक्षा मापदण्ड र सञ्चालन प्रक्रियासम्बन्धी विषय टुङ्ग्याएर दुवै देशको एआइपीमा प्रकाशित गर्नुपर्ने छ । त्यसपछि मात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नयाँ मार्ग प्रयोग गर्न सक्ने छन् ।

सम्बन्धित समाचार