काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को उच्च स्रोतले अर्याल प्रहरी नियन्त्रणमा आइसकेको पुष्टि गरेको हो ।
स्रोतका अनुसार अर्याललाई नियन्त्रणमा लिइसकिएको छ । उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले औपचारिक रूपमा खुलाएको छैन। ‘उहाँ हाम्रो नियन्त्रणमा आइसक्नुभएको छ । हामी चाँडै सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो ।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको सिन्डिकेट तथा गैरकानुनी रकम संकलन प्रकरणमा अर्यालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल नेपालबाहिर पुगेका थिए । उनी भारतको कोलकाता पुगेको बुझिएको छ। भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतको भनाइ छ ।
सीआईबी स्रोतका अनुसार अर्याललाई आजै नेपाल ल्याउने तयारी भइरहेको छ। उनको पक्राउ, नेपाल ल्याउने प्रक्रिया र अनुसन्धानबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ । यसअघि यही प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव गरी ६ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पर्नेमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ रहेका छन् । झन्डै दुई अर्ब रुपैयाँ हिनामिना भएको भनिएको यस प्रकरणमा तत्कालीन श्रमसचिवसमेत रहेका अर्यालको भूमिकाबारे अनुसन्धान भइरहेको छ ।
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी र गैरकानुनी रकम संकलन प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा परेका छन् ।