आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुँदै सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन् ।

आईक्याप एसियाका विभिन्न देशका राजनीतिक दलहरूबीच संवाद, सहकार्य र अनुभव आदानप्रदान गर्ने साझा मञ्च हो । सन् २००० मा स्थापना भएको यस संस्थाले क्षेत्रीय शान्ति, स्थायित्व, लोकतन्त्र, आर्थिक विकास र आपसी समझदारी प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । सम्मेलनमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भई साझा चुनौती र क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्छन् ।

कार्यक्रममा सम्बोधन गर्दै चौधरीले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको र विश्वस्तरमा पहिचान स्थापित गरेका ब्रान्ड निर्माण, निजी क्षेत्रको सशक्तीकरण र सरकार तथा निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यबाट दक्षिण कोरियाले अर्थतन्त्रमा उल्लेखनीय रूपान्तरण गरेको बताए ।

निजी उद्यमलाई विस्तार, प्रतिस्पर्धा र विश्व बजारमा स्थापित हुन अनुकूल वातावरण सिर्जना गर्दै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नु दक्षिण कोरियाली विकास मोडलको महत्वपूर्ण विशेषता रहेको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र नेपालको राजनीतिक तथा आर्थिक विकासमा पार्टीले पुर्‍याएको योगदानको चर्चा गर्दै चौधरीले विगतका कमजोरी र गुमेका अवसरलाई स्वीकार गर्दै वर्तमान नेतृत्व र सिंगो पार्टी त्यसलाई सच्याएर अघि बढ्न प्रतिबद्ध रहेको बताए ।
खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणको महत्वलाई नेपाली कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै उनले लोकतन्त्र र उदार आर्थिक नीतिलाई विकासका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे । नेपालको भावी विकास रणनीति पनि यिनै मान्यतामा आधारित हुनुपर्ने उनको धारणा थियो ।

सम्बोधनका क्रममा चौधरीले पछिल्लो समय नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । युवाको असन्तुष्टि राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी सार्थक सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

राजनीतिक नेतृत्वप्रतिको विश्वास स्वतः प्राप्त नहुने भन्दै उनले इमानदारी, पारदर्शिता र परिणाममुखी कार्यबाट मात्रै जनविश्वास आर्जन गर्न सकिने समेत बताए । राजनीतिक संस्थाहरूलाई अझ खुला, जवाफदेही र नागरिकका आकांक्षाप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

राजनीतिक नवीकरणसँगै आर्थिक अवसरको विस्तार आवश्यक रहेको उल्लेख गर्दै चौधरीले युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता, आधुनिक सीप र भविष्य निर्माणका अवसर सिर्जना गर्नु राजनीतिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।

एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यम विकास, प्रविधिको जिम्मेवार प्रयोग र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सम्बोधनमा अनुभव आदानप्रदान तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्‍यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ,’ चौधरीले आफ्नो सम्बोधनमा भने ।
साथै, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे चर्चा गर्दै चौधरीले हालै नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए । जलवायु परिवर्तनको असर कुनै एक देशमा सीमित नरहने उल्लेख गर्दै उनले यसको जोखिम न्यूनीकरणका लागि विश्वका सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार