माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशत बढेर ५५ करोड पुग्यो, प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा

0 Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३१.८ प्रतिशतले बढेको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको संचालन आम्दानी २ अर्ब ३ करोड ६९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम (इम्पेयरमेन्ट चार्ज) २१ करोड १२ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ ४३ पैसा रहेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा १७ रुपैयाँ ७१ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २२ पैसाबाट बढेर १४४ रुपैयाँ ४० पैसा पुगेको छ।

बैंकको व्यवसाय विस्तारतर्फ असोज मसान्तसम्म कुल निक्षेप २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह १ खर्ब ७२ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। बैंकको कुल सम्पत्ति २ खर्ब ६५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा आएको छ। खुद खराब कर्जा १.२३ प्रतिशतबाट १.०४ प्रतिशतमा झरेको छ भने खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्था १००.८७ प्रतिशतबाट बढेर १०६.४३ प्रतिशत पुगेको छ। यसले कर्जा जोखिम व्यवस्थापनमा सुधार देखाउँछ।

बैंकको कोषको लागत ४.०३ प्रतिशतबाट घटेर ३.१४ प्रतिशतमा आएको छ। आधार दर ५.८१ बाट ४.९२ प्रतिशतमा झरेको छ। यसले कर्जाको ब्याजदर घटाउन सहज भए पनि ब्याजदर अन्तर ३.६५ बाट घटेर ३.४१ प्रतिशतमा आएको छ।

पुँजी पर्याप्तता अनुपात १२.१७ प्रतिशतबाट घटेर ११.७६ प्रतिशतमा आएको छ। यद्यपि टियर वान पुँजी अनुपात ८.७३ बाट बढेर ९.२२ प्रतिशत पुगेको छ। इक्विटीमा प्रतिफल ८.८९ बाट बढेर ९.६२ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.७५ बाट बढेर ०.८५ प्रतिशत पुगेको छ।

कर्जा–निक्षेप अनुपात ७९.४४ बाट घटेर ७७.९३ प्रतिशतमा आएको छ।

बैंकको चुक्ता पुँजी १५ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ। यसमा ३ अर्ब रुपैयाँको ८.२५ प्रतिशत ब्याजदर भएको माछापुच्छ्रे बैंक पर्पेचुअल गैरसञ्चयी अग्राधिकार सेयरसमेत समावेश छ।

सम्बन्धित समाचार