काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँको तुलनामा ६.२३ प्रतिशतले बढी हो। तर, बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा घटेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ थियो। यसअनुसार खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेको छ।
खुद ब्याज आम्दानी घटे पनि शुल्क तथा कमिसन र ट्रेडिङ आम्दानी बढ्दा बैंकको कुल सञ्चालन आम्दानीमा सुधार आएको छ। बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६० करोड २९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ५५ करोड ३५ लाख रुपैयाँ थियो। त्यस्तै, खुद ट्रेडिङ आम्दानी २५ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १४ करोड ९५ लाख रुपैयाँ थियो।
बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ११ करोड ३७ लाख रुपैयाँ थियो। कर्जा तथा अन्य नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम पनि घटेको छ। गत वर्ष ४२ करोड ३१ लाख रुपैयाँ रहेको यस्तो रकम समीक्षा अवधिमा २३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ७२ करोड १५ लाख रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात घटेर ०.५० प्रतिशतमा झरेको छ। गत वर्षको सोही अवधिमा यस्तो अनुपात ०.७४ प्रतिशत थियो। कुल निष्क्रिय कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्था २९५.४६ प्रतिशत रहेको छ।
बैंकको कुल पुँजी पर्याप्तता अनुपात ११.७८ प्रतिशत र टियर वान पुँजी अनुपात ९.४५ प्रतिशत छ। कर्जा–निक्षेप अनुपात ७५.४३ प्रतिशत, आधार दर ४.२५ प्रतिशत, लागतकोष २.९७ प्रतिशत र ब्याजदर अन्तर २.९६ प्रतिशत रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा छ। कुल सम्पत्ति प्रतिसेयर २ हजार ७९० रुपैयाँ ५४ पैसा रहेको बैंकको विवरणमा उल्लेख छ। बैंकको वार्षिकीकृत सम्पत्तिमा प्रतिफल १.२८ प्रतिशत र इक्विटीमा प्रतिफल १४.२८ प्रतिशत छ।
विपद् र आर्थिक चुनौतीबारे बैंकको विश्लेषण
बैंकले आफ्नो व्यवस्थापन विश्लेषणमा रासुवा र आसपासका क्षेत्रमा आएको बाढीपहिरोले व्यापार, पर्यटन, ऊर्जा उत्पादन तथा आपूर्ति शृंखलामा असर पारेको उल्लेख गरेको छ। रासुवागढी व्यापारिक मार्ग प्रभावित हुँदा नेपाल–चीन सीमापार व्यापारमा समेत अवरोध आएको बैंकको भनाइ छ। विपद्पछिको पुनर्निर्माणले सार्वजनिक वित्तमा थप दबाब सिर्जना गर्न सक्ने भए पनि पूर्वाधारमा लगानी र पुँजीगत खर्च बढेमा आगामी दिनमा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बैंकको अपेक्षा छ।
बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप वृद्धि, रेमिट्यान्स आप्रवाह र वित्तीय प्रणालीमा पर्याप्त तरलताले बैंकिङ क्षेत्रलाई सहयोग गरेको छ। ब्याजदरमा आएको कमीले कर्जा विस्तार र निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण बनेको पनि बैंकको विश्लेषण छ।
तर बैंकिङ क्षेत्रमा पुँजीमा परेको दबाब, सञ्चालन खर्च व्यवस्थापन, दक्ष जनशक्ति प्राप्ति, गैरब्याज आम्दानी बढाउने तथा कर्जा असुली र गुणस्तरीय सम्पत्ति कायम राख्ने चुनौती रहेको बैंकले औँल्याएको छ। भू–राजनीतिक तनाव, व्यापारसम्बन्धी अनिश्चितता, ब्याजदरमा उतारचढाव, नियामकीय परिवर्तन र साइबर सुरक्षालाई पनि चुनौतीका रूपमा उल्लेख गरिएको छ।
यी चुनौतीबीच डिजिटल बैंकिङ विस्तार, नयाँ वित्तीय सेवा तथा उत्पादन विकास, ग्राहककेन्द्रित सेवा र सम्पत्ति तथा दायित्वको प्रभावकारी व्यवस्थापनलाई बैंकले आगामी रणनीतिका रूपमा अघि सारेको छ।