ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशत बढेर २ अर्ब ३१ करोड पुग्यो, खराब कर्जा र कर्जा नोक्सानी खर्च घट्यो

0 Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा गरेको बैंकले यस वर्ष नाफा २४.४८ प्रतिशतले बढाएको हो।

बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमीले सहयोग गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ रहेको यस्तो खर्च चालु वर्षको असोज मसान्तमा घटेर ४८ करोड ८३ लाख रुपैयाँमा झरेको छ। यसमा करिब ५२ करोड रुपैयाँको कमी आएको छ।

बैंकको खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यो १.४५ प्रतिशतको वृद्धि हो।

समीक्षा अवधिमा बैंकले १ अर्ब २२ करोड १२ लाख रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी ६ अर्ब ८ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ ५१ पैसा रहेको प्रतिसेयर आम्दानी चालु वर्षको असोज मसान्तमा बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत रहेको छ। खुद नाफा र वितरणयोग्य रकममा भएको सुधारले बैंकलाई आगामी दिनमा सेयरधनीलाई प्रतिफल दिने आधार तयार गरेको छ।

बैंकले निक्षेप र कर्जा दुवै विस्तार गरेको छ। गत वर्षको असोजसम्ममा ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु वर्षको सोही अवधिमा ३.११ प्रतिशत बढाएर ६ खर्ब ९० अर्ब रुपैयाँ पुर्‍याएको छ। कर्जा प्रवाह भने ७.४८ प्रतिशत बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ४ खर्ब ३९ अर्ब ८ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप अनुपात ७०.११ प्रतिशत रहेको छ। निक्षेपको तुलनामा कर्जा विस्तारको गति बढी देखिए पनि बैंक नियामकीय सीमाभित्र रहेर कर्जा विस्तार गर्ने अवस्थामा छ।

बैंकको खराब कर्जा अनुपातमा पनि सुधार आएको छ। गत वर्षको असोजमा ४.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु वर्षको असोजमा घटेर ४.७९ प्रतिशतमा झरेको छ। खराब कर्जा घट्नु र कर्जा नोक्सानी व्यवस्थापन खर्च कम हुनुले बैंकको वित्तीय अवस्थामा सुधार देखाएको छ।

यद्यपि बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन खर्च घट्नुको योगदान उल्लेख्य देखिएकाले आगामी त्रैमासमा पनि यस्तो सुधार कायम रहन्छ कि रहँदैन भन्ने महत्त्वपूर्ण हुनेछ। कर्जा असुली, ब्याज आम्दानी र व्यवसाय विस्तारले आगामी दिनको नाफा तथा लाभांश क्षमतामा प्रभाव पार्नेछ।

सम्बन्धित समाचार