काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर अर्थात् टोल शुल्क लाग्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार शुल्क निर्धारण गर्दै टोल संकलनको औपचारिक थालनी गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले यसअघि नै सूचना जारी गर्दै आजदेखि सुरुङमार्गमा शुल्क लागू हुने जानकारी दिएको थियो ।
काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्ने प्रमुख मार्गमा यात्रा गर्ने सवारीसाधनले अब तोकिएको मापदण्डअनुसार अनिवार्य रुपमा टोल तिर्नुपर्ने भएको छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम यो शुल्क प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चार वटा मुख्य वर्गमा वर्गीकरण गरिएको छ । पहिलो वर्गमा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
त्यस्तै, दोस्रो वर्गका मिनीबस तथा मिनी टिपर र ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरिएको छ । तेस्रो वर्गमा रहेका बस तथा सिंगल रियर एक्सेल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ ।
चौथो तथा अन्तिम वर्गमा पर्ने मल्टी एक्सेल ट्रक, अन्य भारी सवारीसाधन तथा उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सुरुङमार्गबाट काठमाडौं भित्रिने र बाहिरिने दिशाअनुसार शुल्कमा केही भिन्नا राखिएको छ । विशेषगरी ठूला तथा मालवाहक सवारीसाधनका लागि प्रवेशतर्फको शुल्क बाहिरिँतर्फको भन्दा बढी कायम गरिएको छ । हलुका सवारीसाधनको हकमा प्रवेश र प्रस्थान शुल्कमा जम्मा ५ रुपैयाँको मात्र अन्तर रहे पनि ठूला ट्रक तथा भारी उपकरणका हकमा भने प्रवेश शुल्क धेरै राखिएको छ ।