विदेशी मदिराको उपभोग घट्न थाल्यो

0 Shares

काठमाडौं । नेपाली बजारमा विदेशी मदिराको उपभोग घट्न थालेको छ । विशेषगरी दशैं–तिहार जस्तो मदिराको खपत उच्च हुने पर्वको समयमा समेत विदेशी मदिराको माग कमजोर देखिएको हो ।

हरेक वर्ष दशैं–तिहारलाई लक्षित गर्दै विदेशबाट ठूलो परिमाणमा मदिरा आयात गरिन्थ्यो । तर यस वर्ष भने आयातमा उल्लेख्य गिरावट देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी मदिरा ५० करोड ५४ लाख रुपैयाँ बराबर मात्रै आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने करिब ५८ करोड रुपैयाँ बराबरको विदेशी मदिरा आयात भएको थियो। यसले विदेशी मदिराको आयात करिब १३ प्रतिशतले घटेको देखाउँछ ।

व्यवसायीहरूका अनुसार बजारमा विदेशी मदिराको माग कमजोर हुनुको मुख्य कारण स्वदेशी उत्पादनको गुणस्तर र विविधतामा आएको सुधार हो । पछिल्ला वर्षहरूमा नेपालमै उत्पादन हुने ह्विस्की, भोड्का, वाइन, बियर लगायतका मदिराले उपभोक्ताको विश्वास जित्न थालेका छन् । गुणस्तर सुधारसँगै मूल्य पनि विदेशी ब्राण्डको तुलनामा प्रतिस्पर्धी रहेकाले उपभोक्ताको रोजाइ स्वदेशी उत्पादनतर्फ सर्दै गएको उनीहरूको भनाइ छ ।

नेपालमा उत्पादन हुने केही मदिरा ब्राण्ड अहिले अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुन थालेका छन् । यसले नेपाली मदिरा उद्योगको क्षमता र गुणस्तर दुवै बढ्दै गएको संकेत गरेको उद्योगीहरूको दाबी छ । पछिल्लो समय स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने र नेपाली उत्पादनप्रति गर्व गर्ने प्रवृत्ति पनि बढ्दै जाँदा त्यसको प्रत्यक्ष लाभ स्वदेशी मदिरा उद्योगले पाएको देखिन्छ ।

अर्कोतर्फ, विदेशी मुद्रा सञ्चितिको संरक्षणका लागि सरकारले विगतमा लागू गरेका आयात नियन्त्रणका नीतिहरू, उपभोक्ताको खर्च गर्ने क्षमतामा आएको परिवर्तन तथा मूल्य संवेदनशीलताले पनि विदेशी मदिराको बजारलाई प्रभावित पारेको व्यवसायीहरू बताउँछन् ।

उद्योगीहरूका अनुसार आगामी तिहारसम्म बजारको अवस्था केही सुधार हुने अपेक्षा गरिए पनि विदेशी मदिराको बजार पहिलेको जस्तो तीव्र गतिमा विस्तार हुने सम्भावना भने कम देखिएको छ । बरु स्वदेशी ब्राण्डहरूले गुणस्तर, नयाँ स्वाद र आक्रामक बजार विस्तारमार्फत आफ्नो हिस्सा थप बढाउने संकेत देखिएको छ ।

विदेशी मदिराको आयात घट्दै जाँदा त्यसको स्थान स्वदेशी उत्पादनले भरिरहेको वर्तमान अवस्था नेपाली मदिरा उद्योगका लागि सकारात्मक अवसरका रूपमा हेरिएको छ । यदि गुणस्तर, ब्राण्डिङ र निर्यात विस्तारलाई निरन्तरता दिन सकिए नेपालमै उत्पादन हुने मदिराले आगामी वर्षहरूमा घरेलु बजारमा अझ बलियो उपस्थिति बनाउने उद्योग क्षेत्रको विश्वास छ ।

त्यस्तै गरि परम्परागत रुपमा उत्पादन गर्दै आइएको मदिराले समेत हिस्सा लिन थालेको बताइएको छ । घरेलु मदिराको समेत पछिल्लो समय गुणस्तर सुधार तर्फ समेत लागिरहेको छ । पराम्परागत रुपमा गरिने उत्पादनको लेवलिङ गरेर विदेश निर्यात समेत हुन थालेका छन् ।

सम्बन्धित समाचार