बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो

0 Shares

तनहुँ । सो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो ।

प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । मौसम अनुकूल हुँदै जाँदा यहाँ घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।

होटल व्यवसायी किसान प्रधानका अनुसार बन्दीपुरमा पर्यटनको याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढेको छ । पर्यटकीय गतिविधि बढ्न थालेपछि होटल व्यवसायमा चहलपहल थपिएको छ । बन्दीपुरको मौलिक पहिचान, प्राकृतिक आकर्षण र सांस्कृतिक विशेषताले पर्यटकलाई यहाँ आकर्षित गर्ने गरेको उनको भनाइ छ ।

बन्दीपुर बजारको परम्परागत स्वरूप, ढुङ्गा छापिएका सडक, पुराना घर तथा स्थानीय जीवनशैली पर्यटकका लागि आकर्षणका विषय हुन् । बजार घुमघामसँगै पर्यटकले यहाँको संस्कृति, खानपान र स्थानीय रहनसहन नजिकबाट बुझ्ने अवसर पाउँछन् ।

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक
बन्दीपुर बजारमा मात्र सीमित नभई विदेशी पर्यटक आसपासका ग्रामीण बस्ती घुम्नसमेत रुचाउने गरेका छन् । बन्दीपुरमा जीप सफारी सञ्चालन गर्दै आएका वसन्त पौडेलले विदेशी पर्यटकलाई रामकोट गाउँसम्म पुर्‍याएर त्यहाँको ग्रामीण जीवनशैली र संस्कृति अवलोकन गराउने गरेका छन् ।

मगर समुदायको बसोबास रहेको रामकोट गाउँ पुग्ने पर्यटक स्थानीय रहनसहन, मौलिक संस्कृति, प्राकृतिक वातावरण र गाउँलेको आतिथ्यबाट प्रभावित हुने गरेको पौडेल बताउँछन् । सहरको व्यस्त जीवनशैलीभन्दा फरक ग्रामीण परिवेश, स्थानीय समुदायको सरल व्यवहार र आत्मीय सत्कारले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

गाउँमा पुगेर स्थानीयको दैनिक जीवन, परम्परा र संस्कृतिबारे बुझ्न पाउँदा पर्यटकले फरक अनुभव हासिल गर्ने गरेका छन् । जीप सफारीले बन्दीपुर बजारबाट आसपासका ग्रामीण बस्तीमा पुग्न सहज बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ ।

ग्रामीण पर्यटनबाट स्थानीय पहिचानको प्रवर्द्धन
बन्दीपुरको पर्यटन आकर्षण बजार र दृश्यावलोकनमा मात्र सीमित छैन । आसपासका गाउँमा रहेका मौलिक संस्कृति, परम्परा, स्थानीय जीवनशैली र प्राकृतिक वातावरण पनि पर्यटनका महत्त्वपूर्ण आधार बन्दै गएका छन् ।

रामकोटजस्ता गाउँमा पर्यटकको आवागमन बढ्दा स्थानीय समुदायको संस्कृति र पहिचानलाई विदेशी पर्यटकमाझ चिनाउने अवसर मिलेको पौडेलले बताए । पर्यटनको याम सुरु भएसँगै बन्दीपुरमा बढेको पर्यटकको चहलपहलले होटल व्यवसायी, यातायात सञ्चालक तथा पर्यटनसँग जोडिएका अन्य व्यवसायीमा उत्साह थपेको छ ।

बन्दीपुरमा स्वदेशी पर्यटकका अतिरिक्त जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अस्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विट्जरल्यान्ड, मलेसिया, हल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रीस र अर्जेन्टिनाका पर्यटक आउने गरेका छन् ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना तथा पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रबिन्दु बन्ने गरेका छन् ।

सम्बन्धित समाचार