दसैँमा जमराको व्यापार

0 Shares

काठमाडौँ। विजयादशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा शीरमा लगाइने जमरा विक्री गरिँदैछ।

काष्ठमण्डप क्षेत्रमा बिहानै देखि जमरा किन्ने र बेच्ने मानिसको भिड लागेको छ। घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले आज किन्ने गर्दछन् । यहाँ प्रति मुठा १०० देखि १५० रुपैयाँसम्ममा जमरा बिक्री भइरहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटको शुभ साइतमा विधिपूर्वक देवी विसर्जन गरिन्छ । त्यसैगरी, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।

घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ । यस अवसरमा बन्धु-बान्धवहरूका साथ बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार, विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ ।

दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ।

सम्बन्धित समाचार