रौतहट । रौतहटको मौलापुर नगरपालिका २ मर्यादपुरस्थित मौलापुर-शीतलपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।
दुर्घटनामा फतुवा विजयपुर नगरपालिका २ शीतलपुर निवासी ५३ वर्षीय मोटरसाइकल चालक त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा।लि। अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान करिब ५ बजे सोमरिया देवीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका त्रिविक्रम र सीमा कुमारीको उपचार भइरहेको छ । दुर्घटनाको कारण मोटरसाइकल अनियन्त्रित हुनु रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । मृतकको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल कलैयामा पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।