काठमाडौं । दसैँ–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर हिलले नौ दिनको ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिलले स्थानीय खानाका परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि र पारिवारिक मनोरञ्जन समेटेर महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सव बन्दीपुर केबलकारको तल्लो स्टेसनमा दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म आयोजना गरिनेछ । आयोजकका अनुसार महोत्सवमा प्रवेश निःशुल्क हुनेछ ।
महोत्सवमा स्थानीय परिकारको फुड फेस्टिभल, रमाइला खेल, सांस्कृतिक प्रस्तुति र बालबालिका तथा परिवारका लागि विभिन्न गतिविधि समावेश गरिनेछन् । बालबालिकालाई लक्षित गरी छुट्टै ‘किड्स जोन’ समेत बनाइने आयोजकले जनाएको छ ।
त्यस्तै, बन्दीपुर केबलकार, जिपलाइन र स्काई साइकलिङलगायतका गतिविधिमार्फत आगन्तुकले मनोरञ्जन तथा साहसिक अनुभव लिन सक्नेछन् । दसैँ–तिहारको बिदामा परिवार र समूहसहित घुम्न आउने पर्यटकलाई लक्षित गरी कार्यक्रम तयार गरिएको आयोजकको भनाइ छ ।
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुर हिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित गतिविधि अघि बढाइएको बताए । उनका अनुसार राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्थानीय स्वाद र साहसिक गतिविधिसँग जोड्नु महोत्सवको उद्देश्य हो ।
कार्यक्रम संयोजक सुरज राईले महोत्सव सबैका लागि खुला रहने र प्रवेश शुल्क नलाग्ने बताए । उनका अनुसार स्थानीय बासिन्दा र बाहिरबाट आउने आगन्तुकलाई उत्सवमय वातावरणमा सहभागी गराउने उद्देश्यले दुई चरणमा कार्यक्रम आयोजना गरिएको हो ।
दसैँ–तिहार अभियानअन्तर्गत बन्दीपुर हिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने पनि जनाएको छ ।
बन्दीपुर हिलमा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक अनुभव र साहसिक गतिविधिसँगै केबलकार तथा रेस्टुरेन्टलगायतका सुविधा उपलब्ध छन् ।