एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्ने सम्झौता

0 Shares

काठमाडौं । एनएमबी बैंक लिमिटेडले व्यावसायिक तथा कर्पोरेट ग्राहकलाई डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले र्‍यापिड टेक प्रालिसँग सहकार्य गर्ने सम्झौता गरेको छ।

‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारसम्बन्धी सम्झौता भएको हो। यस सहकार्यबाट व्यवसायहरूले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ कारोबार गर्न सक्ने व्यवस्था मिलाउने बैंकले जनाएको छ।

सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफूले प्रयोग गरिरहेको बैंकिङ प्रणालीबाटै रकम भुक्तानी, हिसाब मिलान र अन्य बैंकिङ कारोबार तत्काल गर्न सक्नेछन्। यसले व्यवसायले छुट्टै बैंकिङ प्रणालीमा प्रवेश गरेर कारोबार गर्नुपर्ने झन्झट घटाउने अपेक्षा गरिएको छ।

त्यस्तै, साना तथा मझौला व्यवसायले पनि व्यापारिक केन्द्र र विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ। यस्तो व्यवस्थाले व्यवसायको दैनिक कारोबारलाई सरल बनाउनुका साथै समय बचत गर्न र वित्तीय कारोबारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

व्यवसायले प्रयोग गर्ने सफ्टवेयर र बैंकिङ प्रणालीबीच प्रत्यक्ष सम्पर्क स्थापित हुँदा भुक्तानी तथा हिसाब मिलानको प्रक्रिया सहज हुन सक्छ। यसले कारोबारको विवरण व्यवस्थापन गर्न र दैनिक वित्तीय गतिविधिमा हुने अनावश्यक झन्झट कम गर्नसमेत सहयोग पुर्‍याउनेछ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल माध्यमबाट सेवा विस्तार गर्दै व्यवसाय तथा ग्राहकलाई थप सहज बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित समाचार