कांग्रेसको १५औँ महाधिवेशनमा विनोद चौधरीको उम्मेदवारी किन ?

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समावेशीतर्फ उपसभापति पदमा विनोद चौधरीले उम्मेदवारी दिएका छन्।

चौधरीले आफ्नो उम्मेदवारीसँगै राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्तिको नेतृत्व गर्ने कांग्रेस निर्माण गर्ने एजेण्डा अघि सारेका छन्। उनले निराशातर्फ बढिरहेको नेपाली समाजमा नयाँ आशा र विश्वास सिर्जना गर्न तथा कांग्रेसको नेतृत्वमा युवा पुस्तालाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

उनको एजेण्डामा राजनीति र अर्थनीतिलाई सँगसँगै अघि बढाउने, २०४८ सालमा सुरु भएको आर्थिक सुधारलाई वर्तमान आवश्यकताअनुसार तीव्र बनाउने र समुन्नत नेपाल निर्माणको अवधारणालाई कार्यान्वयन गर्ने विषय समेटिएका छन्।

चौधरीले बीपी कोइरालाको राजनीतिक सोच र सुवर्णशमशेर जबराको आर्थिक विकाससम्बन्धी नीतिलाई संयोजन गर्दै कांग्रेसलाई आर्थिक विकासको नेतृत्व गर्ने आधुनिक पार्टीका रूपमा स्थापित गर्ने बताएका छन्।

त्यस्तै, युवालाई सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्ससँग जोड्ने, नेपाललाई डिजिटल इकोनोमीतर्फ अघि बढाउने, स्टार्टअपका अवसर सिर्जना गर्ने तथा आन्तरिक र विदेशी लगानीका लागि अनुकूल वातावरण बनाउने उनको एजेण्डा छ।

उनले भ्रष्टाचार अन्त्य र सुशासन, रोजगारी सिर्जना, प्रदेश तथा स्थानीय तहमा उद्योग विस्तार, क्षेत्रीय आर्थिक असमानता न्यूनीकरण तथा सीमान्तकृत समुदायलाई आर्थिक अवसरसँग जोड्ने विषयलाई पनि प्राथमिकतामा राखेका छन्।

चौधरीले पार्टीभित्र पुस्तान्तरण, पुस्ताबीच सहकार्य तथा अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई जोडेर आधुनिक कांग्रेस निर्माण गर्ने बताएका छन्।

आन्तरिक लोकतन्त्र, पारदर्शिता, कार्यकर्ताको सम्मान र नागरिकप्रतिको जवाफदेहितालाई पार्टी संस्कृतिको आधार बनाउने प्रतिबद्धता पनि उनले अघि सारेका छन्।

सम्बन्धित समाचार