नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएपछि नुवाकोट र रसुवालाई जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडानको काम सुरु भएको छ। दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ।
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंले पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको बताए। उनका अनुसार आजसम्म सबै सामग्री वेत्रावती पुग्नेछ भने बुधबारदेखि नेपाली सेनाको ५५ सदस्यीय टोलीले पुल जडानको काम सुरु गर्नेछ।
उनले सामान्य अवस्थामा पुल जडान गर्न तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ संरचनामा थप दुई मिटर उचाइ बढाइएको कारण निर्माण कार्यमा केही समय थप लाग्ने बताए। थपिएको संरचना सुक्न समय लाग्ने भएकाले फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनको भनाइ छ।
यसअघि वेत्रावतीमा रहेको पुल भोटेकोशीको बाढीले क्षति पुर्याएको थियो। सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई–दुई मिटर उचाइ बढाइएको छ। निर्माणाधीन एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ भने यसको भारवहन क्षमता ६० टन रहनेछ।
वेत्रावतीसम्म सडक पहुँच खुलेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ। गल्छी–रसुवागढी सडक योजनाले सडक सञ्चालनमा ल्याएपछि निर्माण कार्यले गति लिएको हो । सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्ग प्रयोग गरी स्थलगत अध्ययन तथा पुलको आधार संरचना तयार गर्ने काम सम्पन्न गरिसकेको थियो।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड गत शनिबारदेखि सञ्चालनमा आइसकेको छ। दसैँअघि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आए नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। सडक सञ्जाल प्रभावकारी नहुँदा बाढीपछि रसुवाको जनजीवन प्रभावित हुँदै आएको छ।