कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

0 Shares

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने जानकारी गराउँदै प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरेका छन् ।

महाधिवेशनबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनमा प्रचारप्रसारलाई वातावरणमैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताए । उनले महाधिवेशन स्थलमा मुख्य प्रवेशद्वार बाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्ने काम नगरिने जानकारी दिए ।

‘महाधिवेशनसम्बन्धी सूचना काठमाडौँ उपत्यकासहित देशभर डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने तयारी गरिएको छ। महाधिवेशनमा करिब सात हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। सहभागी नेता तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको छ,’ प्रवक्ता चालिसेले भने ।

महाधिवेशन स्थलमा पत्रकारका लागि दैनिक पत्रकार सम्मेलन तथा समाचार सङ्कलनको आवश्यक व्यवस्था मिलाइएको उहाँले जानकारी गराए । उनका अनुसार वडा तहमा ९९ प्रतिशत क्रियाशील सदस्य सहभागी भएका छन् ।

अन्तर्राष्ट्रिय अतिथिका साथसाथै देशभित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा आमन्त्रण गरिएको प्रवक्ता चालिसेले जानकारी दिए । महाधिवेशनमा वैचारिक बहससँगै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूसँग समेत छलफल गरिने उल्लेख गर्दै उनले युवा, बेरोजगारी र प्रविधिसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर नयाँ अवधारणा तथा नीति प्रस्तुत गर्ने तयारी गरिएको बताए ।

महाधिवेशनलाई व्यवस्थित, अनुशासित र वातावरणमैत्री बनाउन नेपाल तथा विदेशमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई जिम्मेवारीपूर्वक सहयोग गर्न प्रवक्ता चालिसेले आग्रह गरे ।

सम्बन्धित समाचार